काठमाडौ । रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज कास्की अदालतमा उपस्थित गराउने भएको छ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने र पूर्व डिआइजी जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो ।
छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी छविलालको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।
गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।
