काभ्रे । नमोबुद्ध नगरपालिका–४ जोरसल्लास्थित संसारीदेवी आधारभूत विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना गरिएको छ । अमेरिकन संस्था ‘आर स्टार फाउण्डेशन’को सहयोगमा उक्त विद्यालयमा कम्प्यूटर ल्याब स्थापना गरिएको हो । फाउण्डेशनको सहयोगमा १५ वटा कम्प्यूटर, स्मार्टबोर्ड एक थान, पाँच वटा स्मार्ट टिभी, एक थान ल्याबटप, प्रोजेक्टर एक थान, फोटोकपी मेशिन एक थान तथा ल्याबका लागि फर्निचर र कार्पेट ब्यावस्थापन भएको छ । करिब १६ लाख रुपैयाँको सहयोगमा उक्त ल्याब ब्यवस्थापन भएको विद्यालयका प्रधानाध्यापक गोविन्द चिमौरियाले जानकारी दिए ।
चिमौरियाका अनुसार विसं २०५३ मा स्थापित विद्यालय कक्षा ३ बाट सुरु भई हालसम्ममा करिब एक सय ७३ जना विद्यार्थी रहेका छन् । कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा कम्प्यूटर ल्याबको स्थापनाले विद्यार्थीमा खुसियाली छाएको देखिन्छ । स्थापित ल्याबको नमोबुद्ध–४ का वडाध्यक्ष अर्जुनबहादुर कार्की र फाउण्डेशनको निर्देशक ८१ बर्षिया सोसालिण्ड रुसियलले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

ल्याबको उद्घाटन कार्यक्रममा प्रविधियुक्त शिक्षा आजको आवश्यकता भएकाले संसारीदेवी आधारभूत विद्यालयमा कम्प्यूटर ल्याबको स्थापना यहाँका विद्यार्थीमा चेतनास्तर बढ्नेमा आफु विश्वस्त रहेको बताए । उनले विद्यार्थीप्रति लक्षित गर्दै भने ‘तपाईहरुले समायानुकूल प्रविधिमैत्री शिक्षा पाउनुभएको छ, यसको सही सदूपयोग गर्नुस्, आफुलाई अब्बल विद्यार्थीका रुपमा प्रस्तुत हुनुस्, शुभकामना छ ।’ सो अवसरमा उनले दाता संस्थालाई धन्यवादसमेत दिएका थिए ।
संस्थाकी निर्देशक रुसियलले आफुले ग्रामीण भेगको विद्यालयमा कम्प्युटर ल्याबको स्थापनाले निकै खुसी महसुस भएको बताउँदै सुरक्षितसाथ ल्याव सञ्चालन गर्न विद्यालयका शिक्षक तथा विद्यार्थीलाई आग्रह गरेकी छिन् । ‘शिक्षा संसारको ठूलो स्वतन्त्रता हो, प्रविधियुक्त शिक्षाले अझ फराकिलो शिक्षा प्राप्त गर्नमा मद्दत गर्दछ’ उनले भनिन् ।
कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधि रविन्द्र सिटौलाले विद्यालयको चाहना तथा विद्यार्थीमा देखिएको रुची तथा लगनशीलताका कारण संस्थाले विद्यालयमा कम्प्युटर ल्याबको स्थापना गरेको बताए । उनले अबको शिक्षा प्रविधिमैत्री हुनु आवश्यक रहेको तथा संस्थाकी निर्देशक रुसियलले पहिले पनि उक्त विद्यालयमा अवलोकन गरेपछि ल्याब स्थापना गर्ने सोच बनाएको बताए ।

सोही अनुसार निर्देशक रुसियलनै नेपाल आएको समयमा ल्याब ब्यावस्थापन गरी उद्घाटन गर्न सफल भएको सिटौलाले बताए । उनले ल्याबलाई विद्यार्थीमैत्री बनाई सुरक्षित गर्न आग्रहसमेत गरेका छन् ।कार्यक्रममा प्रअ चिमौरियाले सहयोगी संस्थालाई धन्यवाद दिँदै विद्यालय स्थापनाको २३ बर्षपछि कम्प्युटर ल्याब स्थापना गर्न सफल भएकाले विद्याद्यार्थीहरुलाई समयानुकूल शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए ।
उनले भने ‘जिल्लामै नमूना विद्यालयका रुपमा परिचित हाम्रो विदालयमा ल्याबको सही सदूपयोग गरी शिक्षामा थप सुधार गर्दै जानेछौँ ।’ ल्याब उद्घाटन कार्यक्रममा विद्यालयको बाल क्लबकी अध्यक्ष कक्षा ८ मा अध्ययनरत अनिषा लामाले आफ्नो विद्यालयमा कम्प्युटर सिक्न पाउँदा निकै खुसी भएको बताइन् ।
‘हामीले कम्प्युटर चलाउन कि त बजारमा रहेको साइबर जानुपथ्र्यो, कि त मोबाइलमा मात्रै कम्प्युटर शिक्षा लिएको र चलाएको देख्न पाउथ्यौँ, आज अमेरिकन संस्थाले हाम्रै विद्यालयमा ल्याबको स्थापन गर्दिएकाले हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले सानै उमेरदेखि कम्प्युटर शिक्षा तथा अभ्यास गर्न पाएकोमा खुसी छौँ’, उनले भनिन् ।

कक्षा ८ कै अर्की विद्यार्थी उर्मिला विसुन्केले आफ्नो विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन भईंरहँदा आफुहरु पनि अन्य नीजि तथा सहरी विद्यालयको झैँ कम्प्युटर शिक्षा लिन पाउँदा दङ्ग परेको बताइन्् । उनले भनिन् ‘हामी गाउँको, त्यसमाथि पनि सरकारी विद्यालयमा यसरी कम्प्युटरबारे पढ्न र कम्प्युरबारे ज्ञानसीप लिन पाउँदा भाग्यमानी ठानेका छौँ ।’ उनले विद्यालय स्थापना भएको करिब २३ बर्षपछि पनि प्रविधिमैत्री विद्यालय बनाउन सहयोग गरेकोमा दाता संस्थालाई धन्यवाद दिईन् ।
यस्तै कक्षा ७ मा अध्ययनरत अभिषेक बसेल र जेशिका श्रेष्ठले हजुरआमा समानले आफुहरुलाई प्रविधिमैत्री शिक्षा दिने उद्देश्यले एकासी बर्षको उमेरमा समेत विद्यालयमा आई सहयोग गरेकोमा निकै उत्साही भएको बताए । उहाँले गरेको सहयोगको आफुहरु जतन गरी त्यसबाट हालको प्रविधिमैत्री शिक्षा लिनेसमेत बताए ।
सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष तथा शिक्षकहरुले दाता संस्थालाई धन्यवाद दिएका थिए । विद्यालयका संस्थापक अध्यक्ष गृवनाथ चिमौरियाले विसं २०५३ मा आफु जनप्रतिनिधि (वडा अध्यक्ष) निर्वाचित भएपछि गाउँमा विद्यालयमा आवश्यक छ भनी स्थापनार्थ विभिन्न क्रियाकलाप गरिएको बताए ।

उनले भने ‘जनश्रमदान, चन्दा तथा आफु र केही व्यक्तिहरुसँग सहयोग मागेर ३ कक्षासम्म बनाएका थियौँ, त्यसपछि विभिन्न संघसंस्था तथा ब्यक्तिको सहयोगमै प्रावि बनाएर निरन्तर सञ्चालनमा ल्याएका थियौँ, अहिले आठ कक्षासम्म चलेको छ, आफुले सुरु गरेको संस्था यहाँसम्म आउँदा म पनि निकै खुसी छु ।’ चिमौरियाले स्थापनाकालदेखि पाँच बर्ष विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भई विद्यालयको उन्नयनमा आफ्नो भूमिका खेलेका थिए ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विदुर चिमौरिया, शिक्षक–अभिभावक संघका अध्यक्ष माधवप्रसाद कँडेल, नमोबुद्धका युवा समाजसेवी एवं पत्रकार रोशन पाण्डेलगायत विद्यालयका पूर्वअध्यक्षहरु, अभिभावक एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
