After header

काभ्रेको पाँचखालामा बन्न लागेको औद्योगिक पार्क बजेट अभावमा निर्माण अलपत्र

काभ्रे । काभ्रे जिल्लाको पाँचखालमा नगरमा नेपालमै पहिलोपटक निर्माण गर्न शिलान्यास गरिएको ‘प्रथम महिला उद्यमी हरित औधोगिक पार्क’ निर्माणकार्य बजेट अभावमा अलपत्र अवस्थामा रहेको छ । पार्क स्थापनार्थ गतसाल प्रक्रिया अघि बढाइएपनि सरकारीस्तरबाट बजेट बिनियोजन नहुँदा प्रक्रियानै रोकिएको हो ।

वातावरणीय चुनौतिलाई सम्बोधन गर्न र हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले पाँचखाल–७ मा निर्माण गर्न दक्षिण एसियाली महिला विकास मञ्चको अग्रसरतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगको सहकार्यमा पार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको थियो । सोही अनुसार २०८० मङ्सिर २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिल्यान्स गरेका थिए ।

शिलान्यासको करिब एक महिनापछि नगरले पार्कका लागि भौतिक पूर्वाधार निर्माणार्थ मन्त्रालयसँग रु २७ करोड माग गरेको थियो । “मन्त्रालयबाट गतसाल पनि बजेट आएन, चालू आर्थिक बर्षमा पनि कुनै बजेट छुट्याइएन, यसकारण पार्कको प्रक्रियानै अलपत्र अवस्थामा छ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार चालु आवमा नगरले ‘म्याचिङ–फण्ड’का रुपमा पार्कका लागि रु चार करोड छुट्याइएको छ ।

सरकारसँग पार्क निर्माण सुरु गर्न यस बर्ष रु २० करोड बजेट माग गरिरहेकाले म्याचिङ् फण्डका लागि उक्त रकम छुट्याएको खरेलले जानकारी दिए । उक्त पार्क नेपालमा पहिलो र दक्षिण एसियामा भारतपछि दोस्रो परियोजना भएको जनाइएको हो । प्रथम हरित महिला औद्योगिक ग्राम स्थापना र विकासका सम्बन्धमा पाँचखाल नगरपालिका, दक्षिण एसियाली महिला विकास मञ्च र महिला उद्यमी महासङ्बीच विसं २०७६ भदौ २० मा सम्झौता भएको थियो ।

२०८० जेठ २४ मा मन्त्रिपरिषद्ले महिला औद्योगिक ग्राम बनाउन पाँचखालमा निर्माणाधीन पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार नगरले २५ वर्षका लागि करिब ५ हेक्टर (९८ रोपनी) जग्गा भाडामा उपलब्ध गराएको छ ।

पार्क निर्माणका लागि कुल रु ९६ करोड अनुमान गरिएका छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त परियोजनाका लागि गतसाल बिनियोजित रु दुई करोडबाट नगरले पार्कको गुरुयोजना निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए), पार्क निर्माण हुने स्थानमा घेराबार तथा पहुँच मार्ग निर्माण र खानेपानीको ब्यवस्थापन गरेको खरेलले बताए । खरेलका अनुसार भौतिक पूर्वाधार निर्माण सम्पन्न भएपछि उद्योग सञ्चालनार्थ पहिलो चरणमा स्थानीय ७० महिलालाई औद्योगिक तालिमका लागि भारत पठाइने छ ।

पार्कभित्र निर्माण हुने संरचना स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरी भूकम्प प्रतिरोधी बनाउने, उद्योगका लागि पार्कभित्र सेवा केन्द्र, प्रशिक्षण केन्द्र, गोदाम, शीत भण्डार, मार्केटिङ प्लेटफर्म, कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी साझा रहने मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष प्रमिला रिजालका अनुसार पार्कभित्र वर्षाको पानी सङ्कलन गर्ने, फोहोर व्यवस्थापन, पानीको पुनप्रयोग गर्न मिल्ने प्रविधि जडान हुने छ भने पार्कभित्र सडक बत्तीसमेत नवीकरणीय (सौर्य) ऊर्जा प्रयोग हुने छ । पार्कभित्र महिलाद्वारा सञ्चालित ५० वटा लघु, साना र मझौला उद्योग स्थापना हुने छन् । नेपाली महिला उद्यमीलाई सहयोग र सशक्तीकरण गर्दै नयाँ प्रविधिसाथ हरित अर्थ व्यवस्थालाई बढावा दिने परियोजनाको मुख्य उद्देश्य रहेको जनाईएको छ ।

एक पटक पढ्नुहोस