काठमाडौँ । प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिकलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । मंगलबार साँझ ६ बजेतिर सिन्धुलीको खुर्कोटबाट फरार भएका नाइजेरियन नागरिक ओलुवासोगो ग्लोरीलाई पक्राउ गरिएको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जनाकारी दिए ।भोजपुरमा पक्राउ गरेर काठमाडौँ ल्याउने क्रममा प्रहरीको घेरा तोडेर उनी भागेका थिए । एसपी काफ्लेले भने, ‘भागेको ८ घण्टामा पक्राउ गरेर काठमाडौँ पठाएका छौँ ।’
खुर्कोट नजिकै अँधेरी पुलमा शौच गर्ने बहानामा २५ वर्षीय ग्लोरी भागेका हुन् । जंगलतर्फ भागेका उनी सर्लाही जाँदै गरेको ईभी गाडीमा चढेर जाँदै गरेको अवस्थामा फेला परेका हुन् । उनलाई सिन्धुलीगढीमा खटिएको टोलीले पक्राउ गरेको एसपी काफ्लेले जानकारी दिए ।
