काभ्रे । काभ्रे दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि आगोलागी भएको बताइएको छ । मंगलबार दिउसो देखि लागिको आगो नियन्त्रणमा नआएपछि नेपाली सेना र प्रहरी आगो निभाउन परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानव बस्तीको अनुगमन गरी मानव बस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।
जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली स्थलमा पुगेको जानकारी दिइन् ।स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोका अनुसार जंगलमा आगो लागेपनि बस्तीमा आइनपुगेको जानकारी दिए ।
डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो। हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ।
आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए। आगलागी भएको स्थानबाट मानवबस्ती करिब तीन किलोमिटरको दूरीमा रहेको जनाइएको छ। प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ। रासस
