काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलका अनुसार आयोग गठनका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका हुन् ।
‘आयोगको अध्यक्ष तथा सदस्य सिफारिस गर्न सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने, ‘प्रक्रिया अघि बढ्छ ।’ सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया सुरु हुने भएको छ ।
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी थिए ।
