काभ्रे । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अधिकार खुम्च्याउन कसैले भाषण गरेकै भरमा डगमगाउन दिन नहुने बताएका छन् । उनले आज काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिकाको ४४औँ स्थापना दिनवस समारोहलाई सम्बोधन गर्दै जनताको अधिकार खुम्च्याउन कसैले भाषण गरेकै भरमा डगमगाउन दिन नहुने बताएका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डगमगाउन दिन नहुने उनको भनाई थियो ।
“सङ्घीय लोकतान्त्रिक–गणतान्त्रिक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधी–नीति परिवर्तन गर्न सकिन्छ, यसबाहेक कुनै विकल्प छैन, जनताको अधिकार खुम्च्याउन कसैले भाषण गरेकै भरमा ब्यवस्था डगमगाउन दिन हुँदैन”, सिंहले भने । अहिलेको कसैको दानमा नआएको उल्लेख गर्दै वर्तमान संविधानमा मरिमार्जन गर्नुपरे सबै पक्षसँग छलफल गरेर मात्रै अघि बढ्ने बताए ।

मन्त्री सिंहले लोकतानित्रक गणतन्त्र स्थापश्चात ‘केही भएको छैन’ भन्ने भाष्य स्थापित गर्दै दुष्प्रचारमा लागेकोप्रति नागरिकहरु पनि चनाखो हुनुपर्ने बताए । के भएको छ के भएको छैन, सबै नागरिकले देख्नुभएको छ, भएको र नभएको कुरा गर्न हिच्किचाउन हुन्न, जे देखेको हो त्यही भन्न समेत उनले आग्रह गरे । स्थानीय तहका विकास–निर्माण आयोजनाका काममा स्थानीय नागरिकलाई सहभागिता गराउन उनले आग्रह गरे ।
योजनाको नीति–विधीअनुसार योजना कार्यान्वयन गर्नुस्, अनि ती योजनामा स्थानीयलाई सहभागिता गराउनुभयो भने योजनाको बारेमा थाहा हुन्छ, समस्या तथा चुनौतिबारे पनि उहाँहरुले थाहा पाउनुहुन्छ, अनि कसरी विरोध हुन्छ !” मन्त्री सिंहले स्मार्ट सिटी निर्माणको प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका ‘सूचक’बारे बुझेर मात्रै अघि बढ्ने बताए ।
सबै बुझेर एक प्रकारको सूचक बनाउँछौँ, यसपछि मन्त्रीपरिषद्बाट पारित भएपछि मात्रै कार्यान्वयनमा जानेछौँ”,उनले भने । बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका पुराना तीन नगर बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी)ले चासो दिएको विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माणकार्य अघि बढाइने उनको भनाई थियो ।
कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा अच्युत आग्ले, बाग्मती प्रदशसभा सदस्यत्रय कञ्चनचन्द्र वादे, तिर्थ लामा र रुकु चौलागाई, नेपाल उद्योग बाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाली कांग्रेस बनेपा नगर समिति सभापति महेश कर्माचार्य, नेकपा एमालेका नगर अध्यक्ष नवराज मानन्धर, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सिताराम दाहाललगायतले नगरको स्थपना दिवसको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा नगरप्रमुख शान्तिरत्न शाक्यले नगरको विकास–निर्माणका काममा सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको बताउँदै हाल नगरको १४ वटा वडामा करिब एक हजार पाँच सय योजना सञ्चालन भएको जानकारी गराएका थिए ।नगरको स्थापना दिवसको अवसर पारेर विभिन्न ब्यक्तिलाई सम्मान समेत गरेको थियो ।
