काठमाडौँ । काठमाडौँको तीनकुने आसपासका क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ । व्यवस्था विरोधी शक्ति राजावादीको प्रदर्शन उग्र बनेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी गरेको हो ।कफ्र्यु शुक्रवार अपराह्न ४ः२५ बजेदेखि राति १० बजेसम्म लागू गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम अधिकारीले जानकारी दिए ।
सो अवधिमा तोकिएको स्थानमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ आदि गर्न नपाइने सूचनामा उल्लेख छ । यस्तै आवतजावत पनि गर्न नपाइने सूचनामा उल्लेख छ ।
कफ्र्यु गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वरदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म लगाइएको प्रशासनले जनाएको छ ।

