चितवन । नेकपा (बहुमत) चितवनका जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मंगलबार दिउँसो १ बजे दुई जना व्यक्तिले नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई दुव्र्यवहार गरेका थिए । लगत्तै नेकपा (बहुमत) चितवनले उक्त घटनाको जिम्मेवारी लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले अनुसन्धानका लागि भरतपुर–१० बस्ने नेकपा (बहुमत)का सेक्रेटरी ध्रुब खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनको साथबाट ९ थान पर्चा पनि बरामद भएको खनालले बताए ।
नेकपा(बहुमत) पार्टीले विज्ञप्ति जारी गरेर नापी कार्यालयका प्रमुख लम्सालले भूमाफियासँग मिलेर पूर्वी चितवनको विभिन्न ठाउँमा नमिल्ने जमिनको कित्ताकाट गरेको, मोटो रकम लिएको आरोप लगाएको छ ।
