After header

बागलुङको सुम्सागाँउमा पानीको हाहाकार

बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ६ सुम्सागाँउमा पानीको हाहाकार मच्चिएको छ । विसं २०७६ मा बागलुङको जैमिनी नगरपालिका–६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत ‘एक घर एक धारा’ सेवा पुर्याइ पनि यतिबेला भने पानीको हाहाकार भएको स्थानियले गुनासो गरेका छन् । प्राविधिक गडबढी, बाढीपहिरो र चट्याङका कारण घरको धारामा पानी आउन नसकेको सुस्सावासीको भनाइ छ । घरको धारा हेरेर गाग्रीमा पानी बोक्नुपर्ने अवस्था सुम्सावासीको छ ।

लिफ्टमार्फत सम्पन्न खानेपानी आयोजना दिगो नहुँदा आँगनमा धारा हुँदासमेत खानेपानी बोक्नुपर्ने अवस्थामा पुगेको सुम्साका स्थानीय कोपिला थापाले बताइन् । उनले आँगनको धारामा असारयता पानी नआएको दुखेसो पोखिन् । सुम्सामा खानेपानीको समस्या आजको होइन, मुहान नहुँदा हिउँदमा त खानेपानीको चरम सङ्कट थियो, खानेपानीको मुहान नहुँदा नेवा र जैमिनी

नगरपालिकाको सहयोगमा गाउँमुनिको कालीगण्डकी छेउबाट पानी ल्याएर धारामा खस्यो”, उनले भनिन्  “लिफ्ट योजनाको भर नहुनेरहेछ, कहिले चट्याङले विद्युत्का उपकरण बिग्रन्छन् त कहिले पहिरोका कारण खानेपानीको पाइप बगाउँछ, पाँच महिना भयो धारामा खानेपानी आउँदैन, गाग्रीमा मानडाँडाबाट आएको मुहानको पानी बोक्छौँ, समस्या पहिलाको जस्तै भयो ।”

विसं २०७६ मा नेवा, जैमिनी नगरपालिका र स्थानीयको जनसहभागितामा रु ८३ लाख खर्चेर सम्पन्न गरिएको आयोजनामा पटकपटक समस्या आएपछि स्थानीय चिन्तित छन् । सुम्सा खानेपानी तथा स्वास्थ्य सरसफाइ आयोजनाका सचिव लालमाया पुनले आयोजना सम्पन्न भइसकेपछि तीनपटक समस्या आइसकेको बताइन् ।

उनले पहिराले मुहानको संरचना बगाएपछि बनाएको भए पनि पछिल्लो समय पहिराका कारण खानेपानीको पाइप बगाउँदा पुनः समस्या भएको बताइन् । “आयोजना सम्पन्न नहुँदै मुहान बाढीले बगायो, पुनर्निर्माण गरेपछि खानेपानी आयो, पछि चट्याङका कारण ट्रान्समिटर जल्यो, अहिले पहिराले पाइप बगाएपछि खानेपानी आएको छैन, नगरपालिकाले समेत मर्मत गरेको थियो, तर लिफ्ट योजना दिगो नहुनेरहेछ”, पुनले भनिन्।

आयोजनामा समस्या आएपछि नगरपालिकाले रु चार लाख ६५ हजार खर्चेर मर्मत गरी चलाएको भए पनि अहिले पुनः समस्या भएको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले जानकारी दिए । उनले विद्युत्को भोल्टेज अनियमित हुँदा उपकरणमा क्षति भएको बताउनुभयो । उहाँले विद्युत्मा एकरुपकता ल्याउन सबस्टेशन चाहिने रहेछ, त्यसका लागि पहल भइरहेको बताए ।

एक पटक पढ्नुहोस