काठमाडौं । जिल्ला अदालत आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आशिष भण्डारी, ३० वर्षीय अमन केसी र बैतडीको पुर्चौडी घर भई हाल धनगढी–३ बस्दै आएका २४ वर्षीय भरत बम रहेका कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार, भदौ २४ गतेको आन्दोलनमा अदालत परिसरभित्र रहेका सवारीसाधन, कार्यालय भवन, मुद्दाका सक्कल मिसिल, कम्प्युटर लगायतका सूचना प्रविधि उपकरणमा आगजनी र तोडफोड भएको थियो।सोही घटनाको अनुसन्धानका लागि जिल्ला अदालतले दिएको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले जानकारी दिए। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी गरिरहेको जनाएको छ ।
