काठमाडौं । कुटपिट गर्ने सग्लन एमाले नेताहरुलाई पक्राउ पछिमात्रै वार्ता बस्ने नभए वार्ता नबस्ने जेनजी युवाहरुले बताएका छन् । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले कुटपिटमा सग्लनलाई पक्राउ गरेपछि मात्रै आफुहरु वार्तामा जाने नत्र नजाने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् ।
बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् ।
जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।
