सुन तस्करीका नाइके पक्राउ

काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् ।

सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले मंगलबार पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको छ । लगत्तै, सुन तस्करी र सनम शाक्य हत्याको मुद्दा चलिरहेको जिल्ला अदालत मोरङमा उनलार्इ उपस्थित गराइएको छ ।

गोरेलाई गौरीघाटबाट बिहान करिब ५ः ३४ बजेको समय पक्राउ गरिएको छानविन समितिले बताएको छ । मोरङ उर्लाबारी-४ का गोरेको काठमाडौं-८ स्थित गौरीघाटमा घर छ । उनलाई त्यहीं क्षेत्रबाट पक्राउ गरिएको समितिले बताएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरप्रसाद पौडेलले भने, ‘हामी सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी कार्य जारी राखेकै थियौं । नेपाल आएको सूचनाका आधारमा मंगलबार बिहान पक्राउ गरिएको हो ।’

समितिका अनुसार गोरेसँग प्रारम्भिक सोधपुछ भएको छ र उनले सुन तस्करी र त्यसमा संलग्नहरुबारे केही सूचना दिएका छन् । ‘उनीहरुको विषयमा समेत गोरेबाट पुष्ट्याइ प्रमाण, तथ्य र सूचना प्राप्त भएको छ’, संयोेजक पौडेलले भने, ‘गहिराइका साथ तथ्यपरक ढंगले अनुसन्धान गर्नै क्रम जारी राख्नेछौं ।’

समितिको अनुसन्धानका क्रममा चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी भएको ठहर गरेको छ । त्यस आधारमा ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा चलिरहेको छ ।

गोरे समूहले तस्करी गरेर ल्याएको साडे ३३ किलो सुन हराएपछि खोजविनका क्रममा सनम शाक्यको हत्या भएको थियो । त्यसको छानविनका क्रममा गोर र उनको समूहले गर्दै आएको सुन तस्करीको पोल खुलेको हो ।

के हो साढे ३३ किलो सुनकाण्ड ?

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइँगुइँ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिअार्इजी गोविन्द निरौला,  महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

एक पटक पढ्नुहोस