अब लापरवाहीले बिरामीको ज्यान गए डाक्टरलाई जन्म कैद हुनसक्ने !

काठमाडौं । यसअघि लापरवाहीका कारण उपचाररत बिरामीको मृत्यु भएका खबर आइरहने गर्थे । तर, ती डाक्टरलाई खासै कानूनी प्रक्रिया पुराउने झण्झट हुँदैनथ्यो । बरु, अस्पतालले मृत्यु हुनेका आफन्तलाई क्षतिपूर्ति तिर्थ्यो । कुरा समझदारीमा मिलाइन्थ्यो ।

अब भने लापरवाहीका कारण बिरामीको मृत्यु भए डाक्टरले पाँच वर्ष जेलदेखि जन्म कैद हुनसक्ने ऐन बनेको छ । भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी ऐन संहितामा यस्तो नियम ल्याइएको हो ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीका कारण बिरामीको ज्यान गए डाक्टरलाई तीन वर्षसम्म कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

‘चिकित्सा सेवा दिँदा, चिरफार गर्दा वा औषधि खुवाउँदा कसैको ज्यान मर्न गएमा कसूरदारलाई जन्म कैद हुनेछ र अङ्गभङ्ग भएमा पन्ध्र वर्षसम्म कैद हुनेछ ।’, ऐनमा उल्लेख छ ।

यसअघि खुट्टाको उपचार गर्नुपर्नेमा हातको उपचार गर्ने, दाहिने हातको अपरेशन गर्नुपर्नेमा बायाँ हातको अपरेशन गर्ने जस्ता गल्ती डाक्टरले गरेका उदाहरण धेरै छन् । अब भने यस्तो गल्ती गरेर बिरामीको उपचार गर्दा ज्यान गए जन्म कैदसम्म हुनसक्ने ऐनमा उल्लेख छ । साथै डाक्टरको लापरवाहीले अंगभंग भए १० वर्षसम्म कैद र १ लाख जरिवाना तिराउने व्यवस्था छ ।

साथै म्याद नाघेको औषधी विक्री गरेको पाइएमा पनि १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिराउने ऐनमा उल्लेख छ । म्याद नाघेको औषधिले बिरामीलाई कुनै क्षति भएमा त्यसको क्षतिपूर्ति पनि दिनुपर्ने व्यवस्था छ ।

ऐनमा भनिएको छ कसैको ज्यान गएमा ज्यान मारे सरह र अंगभंग बनाए, अंगभंग गराए सरह सजाय हुने ऐनमा उल्लेख छ ।

एक पटक पढ्नुहोस