भारतीय पूर्वप्रधानमन्त्री देवगौडा नेपाल आउँदै

‘भारतका पूर्वप्रधानमन्त्री देवेगौडाजी आज  साँझ नेपाल एयरलाइन्सको उडानबाट ९ बजे काठमाडौं आउँदै हुनुहुन्छ, यो उहाँको नितान्त व्यक्तिगत र धार्मिक भ्रमण हो’ भ्रमणको संयोजन गरेका अन्तराष्ट्रिय मैत्री समाज नेपालका संयोजक प्रदीप खनालले मिडिया दर्पण संग  भने । भ्रमणमा पूर्वप्रधानमन्त्री देवगौडासहित १३ जना तीर्थयात्री काठमाडौं आउने छन् ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ भदौमा पशुपतिनाथ दर्शन गरेका थिए भने त्यही दिन काठमाडौं आएका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी १६ भदौमा कैलाश मानसरोवरतर्फ लागेका थिए । देवेगौडा यो पटक नेपाल भ्रमण गर्ने तेस्रो भीभीआइपी हुनेछन् ।

खनालका अनुसार शुक्रबार बिहान पशुपतिनाथको दर्शन गरेर अपरान्ह पाँच बजे जेट एयरलाइन्सको उडानबाट उनी भारत फर्किने कार्यक्रम छ ।

दक्षिण भारतका शक्तिशाली राजनीतिज्ञ मानिने देवगौडा सन् १९९६ जुन १ देखि १९९७ अप्रिल २१ सम्म भारतका प्रधानमन्त्री भएका थिए ।

भारतको कर्णाटकका पूर्वमुख्यमन्त्रीसमेत भएका उनी लोकसभाका सांसद पनि हुन् । देवगौडाका छोरा एचडी कुमारास्वामी हाल कर्नाटकका मुख्यमन्त्री छन् । उनी भारतीय राष्ट्रिय कांग्रेससँगको सत्ता गठबन्धनबाट मुख्यमन्त्री भएका हुन् ।

एक पटक पढ्नुहोस