चितवनमा कोरोना संक्रमितको सम्पर्कमा आएका सबै घर फर्किए।

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुईजना संक्रमितको सम्पर्कमा आएका सबैजना शुक्रबारबाट क्वारेन्टाइनमुक्त भएका छन् । उनीहरुको दुई–दुईपटक पिसिआरमा स्वाब परीक्षण गर्दा नेगेटिभ नतिजा देखिएपछि क्वारेन्टाइनबाट घर पठाएको राप्ती नगरपालिकाका मेयर प्रभा बरालले बताइन् । अब उनीहरु एकहप्ता होम क्वारेन्टाइनमा बस्नुपर्ने छ ।

राप्ती नगरपालिका–८ ब्रम्हनगरका ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी द्रूत परीक्षण (आरडिटी) र स्वाबको पिसिआर परीक्षण भएको थियो । निकट सम्पर्कमा रहेका १० जनालाई क्वारेन्टाइनमा राखेर दुईपटक स्वाब परीक्षण गरेको चितवन स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले बताए ।

चैत्र ३ गते बेलायतबाट काठमाडौं हुँदै चितवन आएका आमा छोरालाई कोरोना भाइरसको संक्रमण भएको थियो । उनीहरुको वैशाख ५ मा स्वाबको पिसिआर परीक्षण हुँदा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये छोरा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आमाको भने चारपटक परीक्षण गर्दा पनि पोजेटिभ नतिजा आइरहेको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा झण्डै सात सयजनाको स्वाब संकलन गरेर पिसिआर भएको छ । त्यसै गरी ९६५ जनाको आरडिटी भएको स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । कोरोना भाइरसको पिसिआर परीक्षण चितवन भरतपुरमै पनि हुने गरेको छ ।

एक पटक पढ्नुहोस