काठमाडौं । निर्धारित समयमै फोहर विसर्जनस्थल निर्माण नहुँदा काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्नका लागि अल्पकालीनरूपमा स्थानको खोजीकार्य शुरु गरेको छ । उपत्यकावासीको आगामी आर्थिक वर्षको शुरुआतीदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा व्यवस्थापन गर्ने भने पनि निर्माणको काम पूरा नभएको र सिसडोल पूर्णरूपमा भरिसकेकाले कामपाले अन्य स्थानको खोजी गर्न लागेको हो ।
विश्वभरि फैलिएको कोभिड–१९ का कारण दुई महिनादेखि सरकारले देशभरि लकडाउन गरे पनि दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम भएको थियो । निर्माणको काम यस आर्थिक वर्षको अन्त्यसम्ममा पनि पूरा नहुने भएपछि कामपाले अन्य स्थानको खोजी गर्नुपरेको हो । उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएकाले र दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण सम्पन्न पूरा नभएकाले आगामी दिनमा फोहर व्यवस्थापनको काम थप समस्याको विषय बनेको छ । धादिङ र नुवाकोट जिल्लाको सिमाना बञ्चरेडाँडामा निर्माण भइरहेको ल्याण्डफिलसाइट छिटो सञ्चालनमा ल्याउन शहरी विकास मन्त्रालय र कामपाबाट संयुक्त प्रयास भने भइरहेको छ ।
‘अन्य समयमा भन्दा बर्खाको समयमा फोहर उत्पादन बढी हुन्छ । यसअघि फोहर व्यवस्थापन भइरहेको स्थानमा फोहर राख्न मिल्ने अवस्था छैन । यसै हप्ता नुवाकोटकै अन्य स्थानमा अल्पकालीन फोहर व्यवस्थापन स्थलको टुङ्गो लगाउने तयारी छ’, कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने ।
काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैभन्दा बढी कामपाबाट र अन्य अरु १७ स्थानीय तहबाट फोहर नुवाकोट लगिने गरिएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल १३ वर्षअघि कामपाले दुई वर्षका लागि भन्दै उपभोग गर्दै आएको हो । क्षमताभन्दा बढी र तोकिएको समयभन्दा बढी समय फोहर व्यवस्थापन गर्दै आएको भन्दै सिसडोलका स्थानीयवासीले यसअघि नै विरोध गर्दै आएका छन् ।