सरकारले प्रतिलिपि अधिकार प्रत्याभूत गर्ने

काठमाडौँ — सरकारले स्रष्टाहरुको प्रतिलिपि अधिकार सुनिश्चित गर्ने भएको छ । शुक्रबार राष्ट्रपति विद्या भण्डारीले दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बौद्धिक सम्पत्तिको सुनिश्चित गर्ने उल्लेख छ । त्यस्तै, भाषा, साहित्य, कला र संस्कृति र सम्पदाको संरक्षण र सम्बद्र्धनको प्रतिबद्धता व्यक्त गरिएको छ ।

अब सरकारले प्रस्तुत गर्ने बजेटमा यसका लागि पनि खर्च छुटाइनेछ । नेपालमा केही समययता स्रष्टाहरु बौद्धिक सम्पत्तिको रक्षार्थ आन्दोलतरत छन् । सञ्चारमन्त्री, पर्यटनमन्त्री, गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर पीडा पोखिसकेका छन् । प्रधानमन्त्रीले गीत/संगीतको चोरीको छानबिन गर्न उच्चस्तरिय समिति बनाउने आश्वासन दिएका थिए  तर त्यसले मूर्तरुपमा पाउन सकेको छैन । प्रहरीमा दिइएको उजुरीसमेत सुनुवाइ नभएको स्रष्टाको गुनासो छ र नीति तथा कार्यक्रममा प्रतिलिपि अधिकारको प्रत्याभूत गरिएपछि आन्दोलत स्रष्टाले खुसी व्यक्त गरेका छन् ।

स्रष्टाहरुले म्युजिक नेपालसहित विभिन्न कम्पनीले अनाधिकृतरुपमा देश/विदेशका प्लेटफर्ममा आफ्नो गीत बेचेको र रोयल्टी नदिएको आरोप लगाउदै आएका छन्  । रेडियो नेपालको स्वामित्वका गीतसमेत म्युजिक नेपालले दर्जनौं स्ट्रिमिङ साइटमा बेच्दै आएको छ तर रेडियो नेपाललाई नै यसको पत्तो छैन ।

गायक प्रेमध्वज प्रधान, लोकगायक कुमार बस्नेत, गीतकार यादव खरेलजस्ता दिग्गजदेखि लक्ष्मण शेष, सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजन इशानलगायतका नयाँ पुस्ताका कलाकार प्रतिलिप अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय छन्।

एक पटक पढ्नुहोस