एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई, सिंगापुर ७१ रनले पराजित

काठमाडौं, २ पुस । नेपालले एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सिंगापुरलाई ७१ रनले हराउँदै उपाधी जितको हो ।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । खराब सुरुवातका बाबजुद नेपाली इनिङलाई मध्यक्रमका ब्याट्सम्यानहरुले उकासेका थिए ।

आपनर कुशल मल्ल दोस्रो ओभरमा शून्य रनमा आउट भएका थिए भने त्यसपछि आएका सुवार आयरले २२ रनको यागदान गरे ।

नेपालका लागि राजन मगरले कप्तान बिशाल केसीले ६३ रनको शानदार पारी खेले । उनले ७९ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तृप्तराज दासले १९ र सुनील भण्डारीले १५ रनको यागदान गरे ।

सातौं नम्बरमा ब्याटिङमा आएका नारायण जोशीले २३ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाएर अविजित रहे भने प्रतिश जोशीले पनि नटआउट १० रनको योगदान गरे ।

१८४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१.५ ओभरमा १ सय १२ रनमै अलआउट भएपछि नेपालले ७१ रनको जित हात पारेको हो ।

सिंगापुरका लागि शाही हर्ष बेनुगोपालले सर्वाधिक ३१ रन र अर्नभ राधवाले सिंगापुरका लागि २१ रन बनाए ।

सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सूर्य तामाङ, अजयकुमार लोनियाले समान ३–३ विकेट लिए भने कुशल मल्ल र नारायण जोशीले एक एक विकेट लिए । सिंगापुरका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

एक पटक पढ्नुहोस