३५ दिनमै बजेट पास, संविधानमा ऐतिहासिक एकता

काठमाडौं । ३५ दिनको संसदीय अभ्याससँगै प्रतिनिधिसभाले बजेट निर्माणको सबै कार्यलाई टुंग्याएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटसँग सम्बन्धित सबै विधेयकहरुलाई पारित गरेर संघीय संसदको तल्लो सदनको रुपमा रहेको प्रतिनिधिसभाले छोटो समयमै यो प्रक्रिया पूरा गरेको हो ।

यसअघि विनियोजन विधेयकलाई पास गरेर राष्ट्रिय सभामा पठाइसकेको प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयकलाई समेत पास गरेको पठाएको हो । प्रतिनिधिसभाबाट गएको विनियोजन विधेयकलाई राष्ट्रियसभाले समेत पास गरिसकेको छ । यी दुई विधेयकलाई समेत पास गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि  बजेटको सबै काम पूरा हुनेछ । सो बजेट साउन १ गतेदेखि लागु हुने भए पनि सम्बन्धित निकायमा खर्चको अख्तियारी पठाउने काम अहिलेदेखि नै सुरु गर्न सकिन्छ । त्यसैले जतिसक्दो छिटो बजेट पास हुनुलाई राम्रो मानिन्छ ।

अघिल्ला वर्षको तुलनामा यो वर्ष बजेट निकै छिटो अघि बढ्यो । पहिलो अधिवेशन बैशाख २६ मा डाकिएमा बैशाख २७ गतेदेखि बजेटको काम थालेको थियो । आज यो अधिवेशनको ३५ औं दिन हो । राष्ट्रियसभाले पनि यसलाई १÷२ दिनभित्रै पास गरेर पठाउने तयारी गरेको छ ।

अघिल्लो वर्ष यो प्रक्रिया पूरा हुन २ महिना भन्दा बढी समय लागेको थियो । अघिल्लो वर्ष वैशाख १६ गते बजेट अधिवेशनको पहिलो बैठक बोलाइएको थियो । असार २५ गते मात्रै बजेटको सबै प्रक्रिया पूरा भएको थियो । गतवर्ष प्र्रतिनिधिसभाले असार १३ बजेट पास गरेर राष्ट्रियसभामा पठाए पनि राष्ट्रियसभाले यसमा थप १२ दिनको समय लगाएको थियो । यो वर्ष यस्तो कार्यशैली बदलिएको छ ।

बजेटको कामकारबाहीलाई अवरोध पुर्याउनेजस्तो देखिएको रुकुम हत्याकाण्डको विषयलाई पनि सहजीकरण गर्दै संसद अघि बढेको हो ।  यसलाई संसदीय अभ्यासको एउटा सुखद पक्ष समेत मानिएको छ । यसमा सत्तारुढ दलको जिम्मेवारी र प्रतिपक्षी दलको सहयोग यसमा एकैसाथ झल्किएको छ ।

अझै आशलाग्दो विषय त के छ भने ३५ दिनको यो अवधिमा नेपालको संविधानको संशोधन कार्य समेत पूरा भएको छ । चालु संसदमा दलहरुबीच अभूतपूर्व एकता देखिएको छ जुन यसअघि कहिलै देखिएको थिएन । संसदमा रहेका सबै राजनीतिक दलदेखिहरु एकमत भएर नेपालको संविधानको अनुसूचीलाई संशोधन गराएका छन्।

एक पटक पढ्नुहोस