After header

सडक सञ्जालले जोडिँदै छन् मुस्ताङ र डोल्पा

ठिनी । गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जिल्ला सडक सञ्जालमा जोडिने भएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडकको काम सुरूआत गरेको हो ।

सो सडक निर्माणका लागि बागलुङस्थित सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी आर्थिक वर्ष २०७६/७७ मा रु ११ करोड विनियोजन भएको मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलिसकेको छ । यो कच्ची सडकमा सवारी सञ्चालनसमेत भइरहेको छ ।

साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण गर्नुपर्ने अनुमान छ । साङ्ता गाउँ मुस्ताङको सबैभन्दा दुर्गम बस्ती हो । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ ।  कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ ।

समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ ।  मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।

‘अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुन्छ’ उनले भने– ‘कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्छ ।’ वारागुङ मुक्तिक्षेत्र तथा मुस्ताङ जिल्लाको लाइफलाइन मानिने यो सडकको निर्माणले स्थानीयवासीको जनजीवनमा आमूल परिवर्तनको अपेक्षा गरिएको छ । मुस्ताङ हुँदै उपल्लो डोल्पा भ्रमणमा जाने पर्यटकको सङ्ख्यासमेत बढ्ने उनले बताए ।
सडक कार्यालय बागलुङका सवइञ्जिनीयर सगुनकुमार कार्कीका अनुसार विभिन्न पाँच खण्डमा बनाइने सडकका लागि छुट्टाछुट्टै रकम विनियोजन भएको छ । एउटा खण्डका लागि रु पाँच करोड, रु दुई÷दुई करोडका दुई खण्ड र रु एक÷एक करोडका दुई खण्ड गरी पाँच खण्डमा सडक निर्माण हुन लागेको हो ।

यही आर्थिक वर्षभित्रमा कर्णाली प्रदेशको डोल्पा जोडिने सङ्घीय सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए । सांसद तुलाचनले भौतिक पूर्वाधार मन्त्रालयबाट निर्वाचन क्षेत्रका लागि आएको रु १० करोड रकममध्ये चार करोड रकमसमेत यही सडकका लागि छुट्याएको जानकारी दिए ।

एक पटक पढ्नुहोस