संसद् अवरोध गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ — कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी कानुन संशोधनका लागि ल्याइएको विधेयक, नेपाल विशेष सेवा (गुप्तचर) को गठन र सञ्चालनसम्बन्धी विधेयक तथा नागरिकता विधेयकका विवादास्पद प्रावधान नसच्याइए संसद् अवरोध गर्ने चेतावनी दिएको छ ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारी, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सांसद गगन थापालगायतले सरकारले अधिनायकवादको शैलीमा अघि बढ्न खोजेको भन्दै त्यसको प्रतिरोध सदन र सडकबाट गर्नुपर्ने बताएका थिए । पौडेलले सिंगो पार्टी एकताबद्ध बनाएर सरकारले खडा गरेको अवरोध र चुनौतीहरूको सामना गर्नुपर्ने धारणा राखेका थिए ।

‘अख्तियार, गुप्तचरी, निजामती र नागरिकतालगायत विधेयकले सरकार निरंकुश र अधिनायकवादी शैलीमा अघि बढ्न खोजेको देखिन्छ । अधिनायकवादलाई रोक्न सडक र सदनबाटै आन्दोलन गर्नुपर्छ भन्ने पदाधिकारी बैठकको निष्कर्ष हो,’ कांग्रेस उपसभापति निधिले भने । नागरिकता विधेयकमा पनि कांग्रेस पूर्वअडानमै रहने भएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बहुमतबाट अघि बढेको विधेयकका विरुद्ध कांग्रेस छ । उसले संविधान र नागरिकता ऐन, २०६३ अनुसार वैवाहिक अंगीकृतको प्रावधान हटाउन नहुने अडान संसद्मा पनि राख्ने भएको छ ।

एक पटक पढ्नुहोस