दाङमा जंगली च्याउ खाएर १ हप्तामा २३ जना बिरामी

बुटवल । दाङमा जगंली च्याउ खाँदा १ हप्ताको अवधिमा २३ जना बिरामी भएका छन् । दाङको तुलसीपुर र देउखुरी नगरका छुटाछुटै ३ स्थानमा १ हप्ताको अवधिमा २३ जना बिरामी भएका हुन् । असार ८ गते तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका एकै परिवारका ५ जना बिरामी परेका छन् भने हिजो देउखुरी बस्ने राप्ती गाउँपालिका वडा नं. २ बराहखुटीमा ४ जना बिरामी भएका छन् । आज फेरि जंगली च्याउँ खाएर १४ जना बिरामी परेका छन् ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारकाअनुसार आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी ३५ वर्षीय विमला विक, उनकी ११ वर्षीया छोरी र १० वर्षीय छोरा, सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ३ निवासी १७ वर्षीया किशोरी, तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी ३६ वर्षीय टेकबहादुर पुन, सोही ठाउँका ३३ वर्षीय कमला पुन रहेका छन् ।

त्यस्तै उनका १९ वर्षीय छोरा टोपेन्द्र पुन, तुलसीपुर ५ निवासी चिनबहादुर रानाकी ९ वर्षीया छोरी,  उनका ५ वर्षीय छोरा, सोही ठाउँका ओसो घर्तीमगरका १८ वर्षीय छोरी निर्मला घर्ती, सोही ठाउँका २४ वर्षीय खिमा पुन, सोही ठाउँका १५ वर्षीया किशोरी, ३५ वर्षीया विपना घर्ती र सोही ठाउँका कमानसिंह पुनकी १० वर्षीया छोरी बिरामी परेका हुन् ।

उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुल्सीपरमा उपचार भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।  यसअधि बिरामी परेका  ९ जनामध्ये केही उपचारपछि घर फर्किएका छन् भने केहीको लमही अस्पतालमा उपचार भइरहेको छ ।  तराई जिल्ला हुनु र पूख्र्योलीदेखि नै बर्षादका बेला केही जाति विशेषको जंगली च्याउ खाने प्रचलन अझै हटाउन नसक्दा यस्ता घटनाहरु भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद गिरीले बताए ।

उनले जंगली च्याउ खाँदा फाईदा भन्दा बेफाईदा बढी हुने भएकोले प्रदेश सरकारले जंगली च्याउ  नखान आग्रह गरेको बताए । जंगली च्याउ खाएर कतिपयको ज्यान समेत गएका घटनाहरु धेरै छन् । केही महिना पहिला प्रदेश कै अर्घाखाँची जिल्लामा जगंली  च्याउ खाँदा एउटै घरका ३ जनाको उपचारका क्रममा मृत्यु भएको थियो । डा.गिरीले व्यवसायिक रुपमा च्याउ खेती गर्ने र जंगली च्याउ नखानको लागि आग्रह गर्ने रणनीति सरकारले ल्याएको जानकारी दिए ।

एक पटक पढ्नुहोस