काठमाडौँ – डा.गोविन्द केसी आइतबार देखि अनशनरत छन्। चिकित्सा शिक्षामा सुधार सहित कोरोना भाइरस संक्रमण र त्यसले जनतामा पारेको मार बारे गम्भीर बन्न सरकारलाई दबाव दिन उनी जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमा अनशन बसेका हुन्। उनको यो १९ औँ सत्याग्रह हो।
अनशन बसेपनि उनले बिरामी जाँच्न भने छाडेका छैनन्। जुम्ला चन्दननाथ नगरपालिका-६ रानिचौरमा रहेको बाबिरा मष्टोको (थान) मन्दिर परिसरमै उनी बिरामी जाँच्ने काम गरिरहेका छन्। केसी मन्दिरमा अनशन बसेको थाहा पाएपछि आफ्नो स्वास्थ्य समस्या देखाउन स्थानीयवासी अनशनस्थलमै पुग्ने गरेका छन्।
