After header

भुम्लुमा मापदण्ड नपुगेका संरचना भत्काइए

भुम्लु/ भुम्लु गाउँपालिकामा विकास निर्माण कार्यको अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार काम नभएको पाइएपछि बनाइएको संरचना भत्काइएको छ ।

भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दीमा निर्माण भइरहेको सडकको पक्की नाली (ड्रेन) मापदण्ड विपरित रहेको पाइएपछि भत्काइएको हो । गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा) सहित प्राविधिक टोलीले अनुगमन गर्दा अनियमितता भएको पाइएको हो ।

गाउँपालिकाका विकासका योजनाका कामहरुको अनुगमन गर्न निस्किएका गाउँपालिकाका उपाध्यक्ष तामाङ (दावा) ले तोकिएको मापदण्ड नपुगेको भन्दै बनेको संरचना भत्काइदिएका हुन् । आर्थिक वर्षको अन्त्यमा योजनाको बजेट पचाउन विकास निर्माणका योजनाहरुमा अनियमितता हुने गरेको घटनाहरु हुने गरेकोले गाउँपालिकाका उपाध्यक्ष दावा अनुगमनमा निस्किएका हुन् ।

उपाध्यक्ष तामाङले भत्काइएको संरचना मापदण्ड अनुसार पुनः निर्माण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
उपाध्यक्ष तामाङले ठेकेदार लाई आगामी दिनमा विकास निर्माण योजनाका कामहरु तोकिएको मापदण्ड अनुसार निर्माण गर्न समेत निर्देशन दिएका छन् । धमाधम निर्माण कार्य भइरहेको उक्त सडक पक्की नाली प्रदेश सरकार र गाउँपालिकाको आधा आधा लगानीमा निर्माण भइरहेको हो ।

उपाध्यक्ष तामाङले गाउँपालिकाका विभिन्न विकास निर्माणका योजनाहरुको निरीक्षण गर्ने क्रममा मापदण्ड विपरित भएका कामहरुलाई मापदण्ड अनुसार निर्माण गर्न निर्देशन दिदै मापदण्ड नपुगेको कामहरु पुन निर्माण गर्नुपर्ने बताए । उनले जनताको करबाट गरिने विकासका कामहरु मापदण्ड अनुसार नै हुनु पर्ने बताउँदै यस्ता काममा अनियमितता गर्नेलाई आफूले कारवाही गरेर छाड्ने बताए ।

विकासका काममा अनियमितता हुँदा आम जनताहरु मारमा पर्ने कुरामा आफु सजग रहँदै त्यस्ता कार्यहरु पालिकामा हुन नदिने समेत उपाध्यक्ष तामाङले बताए । आर्थिक वर्षको अन्त्यमा समयमा नै काम नसकी बजेट पचाउन विकास निर्माणका काम असारको चटारोमा हतार हतारमा गर्दै अनियमितता गर्दै योजना फछ्र्यौट गर्ने गरेको घटनाहरु निकै भेटिन्छ ।

एक पटक पढ्नुहोस