काठमाडौं । आठ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको हो ।समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । समितिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न भनेको छ ।
सरकारले जारी गरेको अध्यादेशमार्फत् यी विश्वविद्यालयहरुका पदाधिकारी पदमुक्त भएका थिए । त्यसैले नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो । सो कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा राखिएको समितिले जनाएको छ ।
