काभ्रे / चुनावको मिति नजिकिएपनि काभ्रेमा दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । दलहरुमा आकांक्षी बढी भएपछि उम्मेदवार छनोट हुन नसकेका हुन् । पार्टीले पाउने संख्यामा कुरो नमिलेपछि सत्तारुढ गठबन्धनले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय गरेको छ भने एमाले पर्ख र हेरको स्थितीमा छ ।
आइतबार बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय तहको उम्मेदवारबारे निर्णय गर्ने अधिकार प्रदेशलाई जिम्मा दिने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार, सबैले ‘ठूलो भाग’ खोजेको कारण गठबन्धनमा सहमति नभएको हो । गठबन्धनको बैठकमा कांग्रेसले ९ स्थानीय तह, माओवादी केन्द्रले ६, एकिकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले एक स्थानीय तह दाबी गरेका छन् । ‘कांग्रेसलाई एक्लै लड्दा केही स्थानीय तह गुम्ला भन्ने छ, माओवादी केन्द्रलाई एक्लै लडेर जित्ने ह्याउ छैन, समाजवादी जित्न भन्दा पनि हार जित गराउन सक्ने शक्ति हो,’ ती नेताले भने, ‘गठबन्धनको विकल्प त छैन, गठबन्धन त हुन्छ तर केही सिट बढी पाइहालिन्छ की भन्ने दाउ हो सबैको ।’
कांग्रेसले जित्न सक्ने नमोबुद्ध, तेमाल, महाभारतमा समेत अन्य दलले दाबी गरेपछि गठबन्धन गर्नुहुन्न भन्ने पक्षमा कार्यकर्ता छन् । मोआवादीले आफूले जितेको चौरीदेउराली र महाभारत बाहेक नमोुबद्ध र तेमालमा दाबी गर्दै आएको छ । अन्य स्थानीय तहमा पनि उपप्रुमखमा आफ्नो दाबी कायम नै राखेको छ ।
एमाले फुटेर बनेको एकिकृत समाजवादीले एमालेले जितेका स्थानीय तह आफूले पाउनुपर्ने अडान राखेका छन् । कांग्रेस लगायतका दलसंग कुरा नमिले एमालेसंग गठबन्धन गर्न माओवादीका एकथरी समूह लागि परेको छ ।
गठबन्धनले निर्णय गरेपछि मात्रै निर्णय गर्ने पक्षमा रहेको एमालेमा पनि सहमति जुट्न सकेको छैन । चौरीदेउराली गाउँपालिकाको अध्यक्ष पदमा जिताराम लामा र उपाध्यक्षमा बबिता खरेलको टुंगो लागेपनि अन्य स्थानीय तहमा आकांक्षी धेरै छन् । एमाले पोलिट्व्युरो सदस्य समेत रहेका जिल्ला इञ्चार्ज गोकूल बास्कोटाले चाहेकै उम्मेदवार हुने भएपनि अरुलाई नचिढ्याउन एमालेले सर्वसम्मतको प्रयास गरेको बताइरहेको छ ।
एमालेले बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार, उपप्रमुखमा विमला दाहाल सापकोटा, धुलिखेलमा अशोक व्याञ्जु र लालतारा अधिकारी, पनौतीमा भीम न्यौपाने र गिता वञ्जारा, पाँचखालमा कञ्चन अधिकारी र सुर्यमाया दनुवार, मण्डनदेउपुरमा विदुर सापकोटा, नमोबुद्धमा राजन भुर्तेल र सम्झना लामा, रोशीमा देवसागर लामा, भुम्लुमा प्रेम लामा, तेमालमा जेनिश लामा, महाभारतमा राजकुमार कुँवर, खानीखोलामा कृष्णबहादुर खुलाल, बेथानचोकमा कमल तिमल्सिना उम्मेदवार बनाउने एमालेको तयारी छ ।
गठबन्धनको उम्मेदवारका आधारमा केही पालिकामा उम्मेदवार परिवर्तन हुन सक्ने बताइएको छ । ४२ वडाअध्यक्षको उम्मेदवार टुंगाएको एमालेले गठबन्धनको उम्मेदवारको आधारमा अरु उम्मेदवार टुंग्याउने तयारी छ ।

काभ्रेमा सत्तारुढ गठबन्धले संख्यामा कुरो मिलेन
कुनै दलले पनि उम्मेदवार टुंगो लगाउन सकेनन्
Prev Post
एक पटक पढ्नुहोस