After header

अनधिकृत संरचना हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं/ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अनधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिएका छन् । आज काठमाडौंको विभिन्न ठाउँमा अनुगमन गदै उनले आज र भोलिमा ठाउँ खाली गर्न व्यवसायीलाई आग्रह गरेका छन् । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।

महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ ।

महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो । त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।

मेयर शाह आज नै कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् । बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।

एक पटक पढ्नुहोस