काठमाडौ / आज बैशाख १० गते तिन जिल्लामा उपनिर्वाचन भईरहेको छ । आज बिहान ७ बजे देखि नै मतदान सुरु भईरहेको छ । निर्वाचन भईरहेको जिल्ला चितवन, बारा र तनहुँको तिन क्षेत्रमा आज बिहानको शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ ।
तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन जारी छ । गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो ।
यहाँ नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्ले लगायत उम्मेदवार छन् ।
नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार खनाल र रास्वपाका उम्मेदवार वाग्लेको भने तनहुँ जिल्लामा मतदाता नामावलीमा नाम नभएकाले उनीहरुले मतदान गर्न पाउने छैनन् । उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा एक लाख २३ हजार ३५० मतदाता छन् ।
त्यसैगरी चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गरेका छन् ।
तर रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउने छैनन् । रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।
त्यसैगरी बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् ।यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम पौडेल बारा–३ र रमेश खरेल काठमाडौँ–१ का मतदाता हुन् ।
