शुकदेव थपलिया काभ्रे
नेपालको व्यवस्था परिवर्तनका दौरानमा कयौँ सहिदहरु निधन भएपछि मात्रै सहिद भएका छन् । अपवादका रुपमा उदाएका काभ्रेका मुकेश कायस्थ ज्युँदो सहिदको रुपमा १७ बर्ष १ महिना अर्थात ६ हजार २ सय ३५ दिन जीवित सहिदका रुपमा बाँचे उनी बाँच्दा सिर्फ व्यक्ति मात्रै बाँचेनन् । देश व्यवस्था र देशमा आइपर्ने अनेक संकटका अनि राम्रा विचारका रुपमा समेत बाँच्न सफल भएका थिए । संविधान सभाबाट पटक पटक म्याद थप गर्दा पनि संविधान नबनेको समयदेखि हाल भैरहेको भ्रष्टचारको अप्रेशन सम्मको अवस्थालाई मुकेशको स्वास्थ्यसँग जोडिएर गणतन्त्रका एक साक्षी जीवित सहिदको रुपमा हेरिँदै आएको थियो ।

दोस्रो जनआन्दोलन ०६२÷०६३ का उनै घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन भएको छ । मुकेशको स्वास्थ्य अवस्थामा केही दिन अघिदेखि खराब हुँदै आएको र उनलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार गराईरहेको र बुधबार राती ८ बजे उनको उपचारको क्रममा मृत्यु भएको थियो । मुकेश केही समय अघि बोल्न खोज्ने गरेपनि केही शब्द र प्रष्ट भाव व्यक्त नगर्दै १७ बर्ष लामो अर्धचेतको अबस्थामा नै उनको मृत्यु भएको हो । मुकेशलाई गोली लाग्दा १४ बर्षका थिए भने उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।
देशमा हाल भैरहेको गणतान्त्रिक व्यवस्थाका साक्षीका रुपमा रहेका कायस्थबारे बरिष्ठ साहित्यकार मोहन दुवालले भने उनी राष्ट्रिय विभूती भएको र सरकारले उनको नामबाट सालिक बनाएर संरक्षित गर्नुपर्ने र उनको नामबाट त्यस्ता अरु घाइतेको संरक्षण र उपचार, सुरक्षा गर्नुपर्ने बताएका छन् ।
२०४८ साल भदौ ९ गते काभ्रेको बनेपामा मिरा कायस्थ र कृष्णमान कायस्थको छोरा को रुपमा जन्मिएका मुकेश कायस्थ । २०६२÷०६३को १९ दिने जनआन्दोलनको क्रममा २०६२ साल चैत्र २६ गते पोखरामा नाला घर भएका ३६ बर्षिय भिमसेन दाहालको गोली लागी मृत्यु भएको थियो । उही सहिद दाहाललाई सहिद घोषणाको माग गर्दै २७ गते बनेपाको तीनदोबाटोमा निकालिएको जुलसमा सहभागी भएका मुकेशलाई प्रहरीले चलाएको गोली कन्चटमा लागेको थियो । गोली लागेको १७ बर्ष पूरा भई १८ औँ बर्ष लाग्दा पनि मुकेश अर्धचेत थिए । उनको हेरचाहा परिवार आफैँले गर्दै आएको थिए । ०६२ साल चैत्र २७ गते गोली लागेपछि मुकेशलाई तत्काल शिर मेमोरियल अस्पताल लगियो पछि बीर अस्पतालमा उपचार भएको थियो । उनै मुकेशको नाममा एउटा मुकेश फाउण्डेसन समेत खोलिएको छ । उनका हरेक गतिविधीहरु सोही संस्था मार्फत हुँदै आएको थियो । भने उनको प्रत्यक्ष हेरचाह उनकै बुवा कृष्णमान र आमा मिराले गर्दै आएका थिए । उनको मृत्यु बारे फाउन्डेशनका अध्यक्ष हिरा शर्मा नेपालले देशको बर्तमान परिस्थतिसँग तुलना गर्दे देशमा राम्रो हुन लागेको संकेत स्वरुप मुकेशले आफ्नो शरीर बिसाएको अथ्र्याएका छन् ।
मुकेशलाई सहिद घोषणा गर्न सर्वदलिय माग
दोस्रो जनआन्दोलनका घाइते ‘जउँदो सहिद’ मुकेश कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न माग गरिएको छ । उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएका कायस्थलाई सहिद घोषणा गर्न बनेपामा रहेका राजनीतिक दलहरुले माग गरेको छन् ।
९ दलको बैठकले कायस्थलाई सहिद घोषणा गरि राष्ट्रिय सम्मान गर्न, मुकेशको निधनमा बनेपा नगरमा एक दिन शोक विदा दिन र अन्त्येष्टि खर्च बनेपा नगरपालिकाबाट बेहोर्न अनुरोध गरेको थियो । मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा बिहिबार बिहान ११ःं३० बाट राखिएको थियो । त्यसपछि बनेपा नगर परिक्रमा गर्दै उग्र तिर्थ घाटमा राजकीय सम्मान सहित अन्तिम दाहसंस्कार गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
यसैक्रममा दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुस्ख व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’
मुकेश कायस्थलाई सहिद घोषणा गर्छाैँ ः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी
मुकेश कायस्थको श्रदाञ्जली सभालाई सम्बोधन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुकेश कायस्थलाई सहित घोषणा गर्ने बताएका छन् । कायस्थलाई श्रदाञ्जली व्यक्त गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, काभू्रेका प्रतिनिधिसभा सदस्य द्वय गोकुल बाँस्कोटा सुर्यमान दोङ प्रदेश सांसदहरु रत्न ढकाल, कञ्चनचन्द्र बादे लक्ष्मण लम्साल लगायतले स्वर्र्गीय मुकेश कायस्थप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बनेपा नगरपालिकामा बिहिबार नै शोक विदा, गरेको थियो । नगर कार्यपालिकाको कार्यालय र मातहतका कार्यालय बन्द हुने विज्ञप्ति जारी गर्दै बताइएको थियो । कायस्थको निधनमा नेकपा एमालेका काभ्रेका अशोक व्याञ्जु, नेपाली कांग्रेसका सभापति तिर्थ लामा, एकिकृत समाजवादीका बसुन्धरा हुमागाईँ लगायतले शोक बिज्ञप्ति निकाल्दै उनको निधनमा दुख व्यक्त गर्दै सरकारलाई सहिद घोषणाको माग गरेका छन् ।
