काठमाडौं । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेलालाई यस वर्ष मलमासले प्रभावित पार्ने भएको छ । मलमासमा कुनै कामना राखेर गरिने धार्मिककार्यको फल प्राप्ति नहुने धार्मिक विश्वास रहेकाले यसपटक मेला प्रभावित हुने भएको हो ।
देवघाट क्षेत्र विकास समिति र देवघाटमा धार्मिक संघसंस्थाले साउने संक्रान्ति सोमबार परेकाले संक्रान्तिको दिनबाहेक अन्य सोमबार खासै दर्शनार्थी नआउने बताएका छन् । मलमास सुरु हुनुअगाडि असार र साउनको एक–एक सोमबार र मलमास सकिएपछि भदौको दुई वटा सोमबारमा दर्शन गर्न उत्तम हुने उनीहरूको सुझाव छ । गलेश्वर आश्रम देवघाटका स्वामी अद्वेतानन्द गिरीले आगामी साउन २ गतेबाट मलमास पर्ने भएकाले मलमास सकिएपछि मात्र बोलबमको दर्शन गर्न सकिने जानकारी दिए । उनले यस वर्ष साउने संक्रान्तिपछिका सोमबार धार्मिकरूपले दर्शनार्थी कम आउने बताए ।महेश आश्रम देवघाटका अध्यापक सन्तोष गिरीले मलमासमा कामना राखेर गरिने फलको आशा निषेध गरिएकाले साउने संक्रान्तिपछि साउन महिनाका चार सोमबारमा बोलबमका दर्शनार्थीहरूका लागि उचित समय नभएको बताए । उनले भने, ‘युवाहरू घुम्न र भगवान्को दर्शन गर्न कुनै फलको आशा नगरी आउन सक्छन् तर मनोकामनापूर्वक गरिने दर्शन भने हुँदैन । नियमित कर्मको रूपमा भगवान्को दर्शन र गंगा स्नान गर्न सकिने भए पनि मनोकामनापूर्वक भने बोलबम मेला यसपटक लाग्दैन ।’
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले सोमबार साउने संक्रान्तिका दिन सोमबार परेकाले त्यस दिनका लागि आवश्यक तयारी गरिएको बताए । उनले संक्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिए । देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताए । साउने संक्रान्तिको दिनमा भने मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उनको अनुमान छ ।
चितवन, तनहुँ र नवलपुरको संगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ । पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताए । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ बाट मलमास सुरु हुँदैछ ।
केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरायसैबीच भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साउन १ देखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।
मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्ष झैँ यस वर्ष पनि साउन १ देखि भदौ ६ सम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी सकिएको बताए । यस वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भिड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।
उनले विगतका वर्ष श्रावणी मेलाबाट करिब ५० लाख बचत हुने गरेको भन्दै यस वर्ष भारतीय पर्यटक बढेकाले १ करोड २५ लाख रुपैयाँसम्म बचत हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।
पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि १ हजार १ सयको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिए ।
उनले साउन २ गतेदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिए । साथै साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरूबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नुहुनेछ । २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आइएको छ ।
मेला अवधिमा स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारुपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए ।
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन थालेकाले नगरपालिकाले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । मेलाका लागि नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुर तथा विभिन्न संघसंस्था एवं स्थानीयको सहभागिता हुनेछ । सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मूलद्वार सोमबार (आज) उद्घाटन गरिनेछ ।
