After header

चिसोको कारण बिरामी बन्दै भूकम्प पीडित

रुकुम । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरू मंसिरको चिसोका कारण झन् समस्यामा परेका छन् । धेरैजसो पीडितहरूमा निमोनिया, रुघाखोकी, ज्वरो र पखालाको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रहरूमा अस्थायी आवास निर्माणको काम भइरहे पनि अझैँ अधिकांश पालमुनि नै बसेका छन् । पर्याप्त न्यानो सामग्रीको अभावमा जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितहरू चिसोका कारण दिनदिनै ज्यान गुमाउन बाध्य भएको देखिएको छ ।

रुकुमपश्चिममा धेरै घरहरूमा क्षति पु¥याएपछि भूकम्पपीडितहरू त्रिपालमुनि बस्न बाध्य छन् । चिसोमा यहाँका केही ठाउँमा हिउँ पर्छ । भूकम्पपीडितहरू चिसो मौसम सुरु भएसँगै बिरामी पर्न थालेका छन् । पालमुनि बस्दा उनीहरूमा अहिले विभिन्न रोगको समस्या देखिन थालेको छ । भने चिसोकै कारण धेरैले ज्यान गुमाएका छन् । भूकम्प गएको लामो समयसम्म पनि पालमुनि रात बिताउन परेपछि प्रभावित क्षेत्रका महिला, वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीलाई चिसोले निकै सकस भएको छ ।

चिसोका कारण बालबालिका, सुत्केरी, वृद्धवृद्धा दीर्घ रोगी बिरामी परेपछि बिरामीको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले बताए । केसी भन्छन, ‘हामीले पहिलो चरणमा भूकम्पबाट घाइते भएका, आफन्त गुमाएका र प्रभावितहरूलाई मनोपरामर्श सेवा दियौँ । त्यसपछि चिसोबाट बिरामी परेकाहरूलाई उपचार गरिरहेका छौँ ।’

अधिकांश भूकम्पपीडितहरू त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालको सहारामा जीविकोपार्जन गरिरहेका बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलाहरूमा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ । चिसोबाट बचाउनलाई हामीले धमाधम अस्थायी आवास निर्माण सुरु गरेका छौँ । यसअघि आठबिसकोट नगरपालिकामा तीन जना भूकम्पपीडितको ज्यान गएको थियो ।

त्रिपालको सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई निमोनिया, ज्वरोजस्ता विभिन्न खालका स्वास्थ्य समस्या देखापरेको थियो । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनूकुल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ । भूकम्पपछि पीडितहरू भन्छन, छाक ट¥यो तर रात टार्न मुस्किल बनेको छ । आठबिसकोट नगरपालिका–१४ घर्तीगाउँ की दुई महिने सुत्केरी कोपिला खत्री भन्छिन्, ‘चिसो बढिरहेको छ । घरबाहिर बसाई छ । रात काट्न मुस्किल भइसक्यो । दिन त जसोतसो काटिन्छ । तर शीतसहितको चिसो रात काट्न गाह्रो भइसक्यो । अस्थायी बासस्थान पाएपछि केही राहत हुने थियो ।’

भूकम्पबाट रुकुमपश्चिममा पाँच वर्ष मुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको, गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना प्रभावित रहेको बताइएको छ । आठबिसकोट नगरपालिकामा ३३ हजार ६ सय १४ जनसंखया प्रभावित भएका थिए । जसमध्ये २८ सय ६३ जना वृद्धवृद्धा, २ सय ८० दीर्घरोगी पालमुनि बस्दै आएका छन् । हालसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुमपश्चिममा तीन जनाको ज्यान गएको बताईएको छ । चिसोले मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी, बालबालिका र सुत्केरी रहेको पाइएको छ ।

आठबिसकोट नगरपालिका–१३ का गणेशबहादुर शाही चिसो पालमा बस्दा बिरामीले थलिएका छन् । उनलाई चिसोले टाउको दुख्ने, ज्वरो आउने, खोकी लाग्नेलगायत समस्याले पिरोलिरहेको छ । ७० वर्षका गणेश पनि चिसो पालमा बस्दा बिरामीले थलिएका छन् । चिसो मौसममा आफू दमको बिरामी चिसोले झनै समस्या भएको शाहीले बताए ।

पटकपटक भूकम्पको पराकम्पन आइरहने भएकाले त्रसित भएका स्थानीय सामान्य चर्किएका घरमा बस्न सुरक्षित नहुने भन्दै अधिकांश भूकम्प पीडितहरूको बास खुला आकाशमा हुँदै आएको छ । भूकम्पपीडित अहिले चिसो पालमा रात काटिरहेका छन । चिसो पालमा गर्भवती, सुत्केरी र बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी प्रभावित भएको स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् ।

मंसिरको चिसोमा एकसरो पालको भरमा विद्यालयमा पठनपाठन गर्नुपरेको आठबिसकोट–१४ स्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनसुरी खड्का बताउँछिन् । अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन सुरु भए पनि विद्यार्थीलाई चिसोले थप समस्या पैदा गरेको खड्का बताउँछिन् । चिसोका कारण अधिकांश मानिसहरू बिरामी पर्न थालेको खड्काले बताइन् । भूकम्पबाट आठबिसकोटमा मात्रै ४२ जनाले ज्यान गुमाएका थिए भने १ सय ३४ जना घाइते भएका थिए ।

एक पटक पढ्नुहोस