हेटौंडा । मुख्यमन्त्री नआएपछि प्रदेशसभा स्थगित भएको छ । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।
बुधबार विहान साढे ११ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने सूचना पाएपछि साढे १ बजेसम्म सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले बुधबारको बैठक स्थगित गरी बिहीवार बस्ने सहमति भएको जानकारी दिए ।
छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । उनी मकवानपुरको राक्सिराङ गाउँपालिका खैराङको एक विद्यालयको वार्षिक उत्सव कार्यक्रममा पुगेका छन् ।विपक्षी दल नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छलफलमा सहभागी एक सांसदले बताए ।
‘वार्ता सहमति नजिक पुगेको थियो । मुख्यमन्त्रीको उपस्थिति बिना फेरि सहमति हुन सक्दैन भन्ने कुरा आएपछि बैठक स्थगित गरिएको हो । उहाँ आएपछि पुनः वार्ता हुन्छ । सहमति जुटेमा भोलि सदन चल्छ’, ती सांसदले भने ।मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेटमा ल्याएको थियो ।
तर बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गरेको, प्रभावशाली नेताहरुले गृह जिल्लामा मात्र बजेट थुपारेको भनेर विपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले नेकपा एमाले र राप्रपाका सांसदहरुको छुटेका योजना समेट्ने सहमति गरेको थियो ।
तर सहमति कार्यान्वयन नभएको भन्दै दुबै दलले विरोध गरेपछि २२ असोजको बैठक स्थगित भयो, सरकारले प्रदेशसभा अधिवेशन नै अन्त्य गरेको थियो ।१४० दिनपछि मंगलबार बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको थियो । मगलबार अधिवेशनको पहिलो दिन शुभकामना दिने क्रममा विपक्षी दलका नेताहरुले सरकार बहाना बनाएर सहमति कार्यान्वयनबाट पन्छिन खोजेको भन्दै आक्रोश पोखेका थिए ।
गत १८ असारमा बजेट पास गर्ने क्रममा भएको सहमति कार्यान्वयन नगरेर सरकारले बेइमानी गरेको विपक्षी नेकपा एमाले र राप्रपाको आरोप छ । विपक्षी सहमति कार्यान्वयन नगराई नछाड्ने अडानमा र सरकार चालू आर्थिक वर्षमा सहमति कार्यान्वयन गर्न नसक्ने बरु आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने पक्षमा छ ।