काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरी हिड्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपाली रहेका छन् ।
बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै उनीहरुले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको प्रहरीले जनाएको छ ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले जानकारी दिए ।
उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ ।
विदेश जानेहरुबाट सुरुमा ५० हजार लिएको र अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै रकम माग गरेको पाइएको प्रहरीको भनाइ छ । उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।
