काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतश्रृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखिको आगलागी अझै नियन्त्रण बाहिर गएपछि आज हेलिकप्टरमार्फत आगो नियन्त्रण लिएको गाउँपालिकाले जनाएको छ । गृहमन्त्रालयमार्फत मगाइएको सिम्रिक एयरको हेलिकप्टरले आज बेथानचोक गाउँपालिकाको बस्ती नजिकिएको आगो नियन्त्रणमा लिईएको जनाएको छ । खानीखोला गाउँपालिका–१ स्थित थामलेख डाँडास्थित महाभारत जङ्गलमा चार दिनअघि आगलागी सुरु भएको थियो ।
जिल्लास्थित नेपाली सेना, शसस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले मन्त्रालयमार्फत हेलिकप्टर मगाई नियन्त्रणको प्रयास थालेको हो । अध्यक्ष भगवान अधिकारीले हेलिकप्टरको प्रयासले बस्ती नजिकको आगलागी निभाउन सकिएको हो ।
खानीखोलाको थामलेख डाँडाबाट सुरु भएको आगलागी विहीबार साँझसम्ममा बेथानचोक गाउँपालिका ५, ३, १ र २ को सिमाक्षेत्रमा समेत आइपुगेको थियो । बस्ती नजिकको आगो नियन्त्रणमा ल्याइएको तर आगलागी सुरु भएको तथा अन्य स्थानमा आगो लागिरहेको अधिकारीले बताए ।
उनका अनुसार हेलिकप्टरले २४ पटकमा २४ हजार लिटर पानीले उक्त क्षेत्रको आगो नियन्त्रणमा ल्याइएको उनले बताए । अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाई भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताए ।
उनका अनुसार २ नं वडास्थित गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभर क्षेत्रको जङ्गलमा लागेको डढेलो निभाइएको बताए । आगलागी भएको स्थानबाट मानवबस्ती करिव चार किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति नभएको जनाएको छ ।
