तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा पुष्टि गरेको छ । केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए । अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ ।
सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन् ।
खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए।
सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए ।
