काठमाडौं । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पुन दुर्गा प्रसाईलाई पक्राउ गरेको छ । आज बिहान उनकै निवासबाटै प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
